नियम २८
भिसा रद्द गर्न सकिने अवस्था
(१) देहायको अवस्थामा विभागले विदेशीको भिसा रद्द गर्न सक्नेछ –
(क) माग भएको समयमा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणपत्र पेश नगरेमा ।
(ख) मगज विग्रेमा वा बहुलाएमा ।
(ग) संगीन फौजदारी अपराधको कसूर गरी भागी आएको देखिएमा ।
(घ) कुनै सरुवा वा गंभीर रोग लागेको भएमा ।
(ङ) निजको उपस्थितिबाट नेपालको शान्ति, सुरक्षा र नेपाली जनताको पारस्परिक सौहार्दतामा प्रतिकूल असर पर्ने देखिएमा ।
(च) संदिग्ध आचरण वा अवान्छित क्रियाकलाप गरे, गराएमा ।
(छ) नेपालभित्रको सामाजिक र सांस्कृतिक वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा ।
(ज) ऐन, यस नियमावली र अन्य प्रचलित कानूनको उल्लंघन गरे, गराएमा ।
(झ) जुन उद्देश्यको लागि भिसा प्रदान गरिएको हो सो अनुरूपको कार्य नगरी अन्य काम कुरा गरेमा वा जुन प्रयोजनका लागि भिसा लिएको हो, सो समय अगावै त्यस्तो प्रयोजन समाप्त भएमा ।
(ञ) एक प्रकारको भिसामा बसिरहेको अवस्थामा अन्य भिसा दिनु पर्ने गरी सम्बन्धित निकायबाट सिफारिस प्राप्त भएमा वा भिसाका लागि आवेदन गरेमा त्यस्तो विदेशीलाई नयाँ भिसा जारी गर्नको लागि साविक भिसा रद्द गर्नु परेमा ।
(२) उपनियम (१) बमोजिम भिसा रद्द गरिएमा सो वापत बुझाएको दस्तुर फिर्ता गरिने छैन ।